काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक रहेका छन्।
कतारको दोहाबाट काठमाडौं आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको छ।
यसैगरी कतारबाटै काठमाडौं आएका बाराको पचरौता नगरपालिका–१, पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी पनि सुनसहित पक्राउ परेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
प्रहरीले उनीहरूबाट बरामद सुनको स्रोत तथा नेपाल ल्याउनुको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
८ आश्विन २०८३, बिहीबार १३:४७