काठमाडौं । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक खण्डमा लगातार वर्षा भइरहेपछि नागढुंगा–मुग्लिङ सडक योजनाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान गरेपछि सडक योजनाले यात्रासम्बन्धी सूचना जारी गरेको हो।
मलेखु–मुग्लिन खण्डका अधिकांश क्षेत्रमा पानी परिरहेकाले खोला, नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पनि सम्भावित जोखिमप्रति सचेत रहन भनिएको छ।
लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने, ढुंगा–माटो बग्ने तथा यातायात अवरुद्ध हुन सक्ने जोखिम रहेको सडक योजनाले जनाएको छ। त्यसैले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिइएको छ।
यात्रा गर्नैपर्ने अवस्था भएमा प्रस्थान गर्नुअघि मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
प्रतिकूल मौसमका कारण सडकको अवस्था जुनसुकै बेला जोखिमपूर्ण बन्न सक्ने भएकाले सम्भव भएसम्म रात्रिकालीन यात्रा नगर्न चालक तथा यात्रुलाई विशेष अनुरोध गरिएको छ।
८ आश्विन २०८३, बिहीबार १२:५८