काठमाडौं । लगातारको वर्षा र आकाशमा लागेको बाक्लो धुम्मका कारण देशको हवाई सेवा प्रभावित भएको छ। मौसममा आएको खराबीले भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही उडान प्रभावित भएका हुन्।
उडान प्रभावित भएपछि विमानस्थलमा यात्रुको चाप बढेको छ। निर्धारित समयमा उडान हुन नसक्दा यात्रुहरू विमानस्थलमै पर्खिन बाध्य भएका छन्।
खराब मौसमकै कारण पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडानसमेत सञ्चालन हुन नसकेको जनाइएको छ।
निरन्तर वर्षा भइरहेकाले मौसममा सुधार नआएसम्म हवाई उडानमा थप प्रभाव पर्न सक्ने विमानस्थल स्रोतले जनाएको छ। यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवासँग जानकारी लिएर मात्र विमानस्थल पुग्न आग्रह गरिएको छ।
९ आश्विन २०८३, शुक्रबार ०९:५३