काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, आपसी हितका विषय तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको हो।
विपद्पछिको अवस्थाबारे जानकारी
भेटका क्रममा नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे पनि कुराकानी भएको थियो। मन्त्री खनालले बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामबारे अस्ट्रेलियाकी समकक्षीलाई जानकारी गराएका थिए।
विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगप्रति मन्त्री खनालले धन्यवादसमेत व्यक्त गरेका छन्।
सहकार्यका क्षेत्र विस्तारमा जोड
भेटमा नेपाल र अस्ट्रेलियाबीच कायम मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री खनालले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरिरहेका छन्।
९ आश्विन २०८३, शुक्रबार ०९:५०