लिसंखु पाखरमा नियमित खोप कार्यक्रमको समीक्षा, सूक्ष्म योजना परिमार्जन

५ असोज, २०८३

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकामा नियमित खोप कार्यक्रमको समीक्षा तथा सूक्ष्म योजना अद्यावधिकसम्बन्धी दुईदिने गोष्ठी सम्पन्न भएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा पालिकाभित्र सञ्चालन भइरहेको नियमित खोप सेवाको अवस्था, हालसम्मको प्रगति र सेवा प्रवाहमा देखिएका समस्याबारे छलफल गरिएको थियो। विशेषगरी लक्षित बालबालिकासम्म खोप सेवा पुगे–नपुगेको अवस्था, कार्यक्रम सञ्चालनका चुनौती तथा आगामी दिनमा सेवा सुधार गर्ने उपायबारे सहभागीबीच अन्तरक्रिया भएको थियो।

गोष्ठीका क्रममा गाउँपालिकाको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सूक्ष्म योजना पनि अद्यावधिक गरिएको छ। आगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र सबै लक्षित बालबालिकाको पहुँचमा पुर्‍याउने विषयमा आवश्यक कार्ययोजना बनाइएको जनाइएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। स्वास्थ्यकर्मीहरूले खोप सेवा सञ्चालनका क्रममा प्राप्त आफ्ना अनुभव, समस्या र सुधारका सुझाव प्रस्तुत गरेका थिए।

गोष्ठीबाट तयार गरिएको अद्यावधिक सूक्ष्म योजना र छलफलबाट प्राप्त सुझावले गाउँपालिकाको नियमित खोप सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

५ आश्विन २०८३, सोमबार ११:२८