जनतापत्र,सिन्धुपाल्चोक ।
लिसंखुपाखर गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै गाउँपालिकाको विकास र सेवा प्रवाहका लागि आवश्यक वित्तीय व्यवस्था स्वीकृत गरेको हो।

गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा विषयगत शाखाहरूबाट सञ्चालन हुने कार्यक्रम तथा सेवाका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। गाउँपालिकाले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
अधिवेशनबाट आर्थिक वर्ष २०८३÷०८४ का लागि चालु तथा पुँजीगत खर्चसमेत गरी कुल ५० करोड ५८ लाख ९ हजार रुपैयाँ खर्च गर्न सकिने व्यवस्था स्वीकृत गरिएको छ। उक्त बजेटबाट गाउँपालिकाभित्रका विभिन्न विकास आयोजना, सेवा प्रवाह सुधार तथा जनजीविकासँग सम्बन्धित कार्यक्रम कार्यान्वयन गरिनेछ।
गाउँसभामा जनप्रतिनिधिहरूले बजेट तथा कार्यक्रममाथि छलफल गर्दै विकासका योजनाहरूलाई प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। साथै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी समृद्ध र आत्मनिर्भर गाउँपालिका निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटले स्थानीय नागरिकको जीवनस्तर सुधार, आधारभूत सेवामा पहुँच विस्तार तथा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ।
१० असार २०८३, बुधबार २२:१९