जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजना तथा लिसंखुपाखर गाउँपालिकाको समन्वयमा पालिका स्तरीय नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

लिसंखुपाखर गाउँपालिका–४, अत्तपुरस्थित गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठु देवी लामा, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्य, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सुवास कार्की, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा साइबर ठगी न्यूनीकरणका लागि प्रहरीले गरिरहेका प्रयासबारे जानकारी गराउँदै आर्थिक वर्ष २०८२र०८३ को जेठ मसान्तसम्मको कार्यसम्पादन प्रगति विवरण प्रस्तुत गरेका थिए।
सुनुवाइका क्रममा सहभागी नागरिकहरूले शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, सडक सुरक्षा, लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा स्थानीय तहमा देखिएका विभिन्न समस्या र सेवासम्बन्धी जिज्ञासा राखेका थिए। उठाइएका प्रश्नहरूको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले जवाफ दिँदै नागरिकका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नागरिक सुनुवाइ कार्यक्रमले सरकार र नागरिकबीचको दूरी घटाउँदै सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय तह, सुरक्षा निकाय र नागरिकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै जनअपेक्षाअनुसार सेवा प्रवाहमा सुधार गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रमले स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गर्ने तथा सुशासन र सार्वजनिक उत्तरदायित्व अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै सम्पन्न भएको थियो।
२४ असार २०८३, बुधबार ०५:१४