काठमाडौं — पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा सबैभन्दा बढी वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सिमलपानीमा १००.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।
मौसमविद्हरूले २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षालाई धेरै भारी वर्षा मान्छन्। २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी, ५० देखि १०० मिलिमिटरसम्म भए भारी र १० देखि ५० मिलिमिटरसम्म वर्षा भए मध्यम वर्षाको श्रेणीमा राखिन्छ।
अर्घाखाँचीसँगै चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोरखाका विभिन्न स्थानमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
मापनअनुसार चितवनको गोविन्द बस्तीमा ८३ र नारायणीमा ५६ मिलिमिटर वर्षा भएको छ। रोल्पामा ७७ मिलिमिटर तथा बर्दियाको औरही खोला केन्द्रमा ७१.२ र दौलतपुरमा ६३.८ मिलिमिटर पानी परेको छ।
त्यस्तै, कैलालीको धनगढी विमानस्थलमा ६४.४, कास्कीको मालेपाटनमा ६७ र पोखरा मापन केन्द्रमा ५३ मिलिमिटर वर्षा मापन गरिएको छ।
बाँकेको खजुरामा ५८.४ तथा गोरखामा ५२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकमा उल्लेख छ।
२१ आश्विन २०८३, बुधबार १४:४४