रोहित पौडेलको शतकसँगै नेपालले क्यानडासामु राख्यो २३६ रनको लक्ष्य

काठमाडौं, २५ असोज । पूर्वकप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेपछि नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमिरात मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको हो।

नेपालका लागि रोहितले १२७ बलमा १०१ रन बनाए। उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो। शतक पूरा गरेका रोहितलाई क्यानडाका जागिरले आउट गरे।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यससँगै उनी एकदिवसीय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।

नेपालको इनिङ्स उकास्न गुल्सन झाले पनि आक्रामक ब्याटिङ गरे। उनले ३४ बलमा ४८ रन जोडे। त्यस्तै, बसिर अहमदले ५७ बलको सामना गर्दै ३० रन बनाए।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै क्यानडाले अब जितका लागि ब्याटिङ गर्नेछ।

२५ आश्विन २०८३, आईतवार १६:३२