रोल्पामा पहिरोले ठूलो क्षति स् ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पा — थबाङ गाउँपालिका–५ कोटलबारामा लगातारको वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी नौ जना बेपत्ता छन् भने दुई जना घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पहिरोपछि नौ जना स्थानीय सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर र ७५ वर्षीय डलबहादुर पुन मगर रहेका छन्।

त्यसैगरी ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पनि बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

अविरल वर्षाका कारण पहिरो खसेपछि घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी र थप क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।

२८ श्रावण २०८३, बिहीबार १३:५५