काठमाडौं — रेबिजका लक्षण देखिएपछि काठमाडौं ल्याइएका सिन्धुलीका चार वर्षीय बालकको उपचारकै क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि परिवारले उनलाई घर लैजाने निर्णय गर्यो। अस्पतालबाट घर फर्किने क्रममा उनको मृत्यु भयो। स्वास्थ्य संस्थामा मृत्यु नभएकाले बालकको विवरण सरकारी मृत्यु अभिलेखमा समावेश हुन सकेन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार बालकलाई गत साता बुधबार रेबिजको लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो। अवस्था बिग्रिएपछि भोलिपल्ट उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो।
तर रेबिजका लक्षण देखिइसकेको अवस्थामा उपचारबाट बचाउने सम्भावना अत्यन्त न्यून हुने भएकाले परिवारले उनलाई घर लैजाने निर्णय गरेको थियो। अस्पतालका एक चिकित्सकका अनुसार घर लैजाँदै गर्दा बाटोमै बालकको मृत्यु भएको जानकारी पछि प्राप्त भएको थियो।
सरकारी तथ्यांकभन्दा वास्तविक मृत्यु बढी हुन सक्ने
नेपालमा हरेक वर्ष रेबिजका कारण करिब १०० जनाको मृत्यु हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले सबै मृत्युलाई समेट्न नसकेको विज्ञहरूको भनाइ छ।
स्वास्थ्य संस्थाबाहिर हुने मृत्यु तथा निजी अस्पताल वा फार्मेसीबाट उपचार र खोप लिने व्यक्तिको विवरण सरकारी प्रणालीमा नआउने भएकाले रेबिजबाट हुने वास्तविक मृत्यु र संक्रमणको संख्या अझ बढी हुन सक्ने बताइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालमा २ लाख २३ हजार ५१० जना जनावरको टोकाइमा परेका थिए। तीमध्ये करिब ९६ प्रतिशतलाई कुकुरले टोकेको थियो।
छाउराले टोके पनि जोखिम उस्तै
चिकित्सकहरूका अनुसार कुकुरको छाउराले टोकेको अवस्थामा पनि रेबिजको जोखिमलाई सामान्य रूपमा लिन हुँदैन। बालबालिका छाउरा कुकुरसँग खेल्ने क्रममा टोकिने र डर वा गाली खाने कारण अभिभावकलाई घटना नबताउने अवस्था देखिने गरेको चिकित्सकहरूको भनाइ छ।
शुक्रराज अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनका अनुसार छाउरा कुकुरमा रेबिज हुँदैन भन्ने धारणा गलत हो। बालबालिकालाई कुकुरले टोकेमा घटना लुकाउन नहुने र तत्काल अभिभावकलाई जानकारी गराउन प्रोत्साहित गर्नुपर्ने उनले बताए।
चिकित्सकहरूले अभिभावकलाई पनि बालबालिकाले कुकुरसँग खेलेको वा कुकुरले टोकेको अवस्थामा गाली नगर्न आग्रह गरेका छन्। गालीको डरका कारण घटना लुकाउँदा समयमै उपचार नपाउने र जोखिम बढ्ने उनीहरूको भनाइ छ।
लक्षण देखिएपछि बचाउन कठिन
रेबिज संक्रमित जनावरको र्यालबाट सर्ने भाइरल रोग हो। मानिसमा हुने अधिकांश संक्रमण कुकुरको टोकाइबाट हुने गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
रेबिजको लक्षण देखिइसकेपछि रोगको उपचार अत्यन्त कठिन हुने भएकाले कुकुरले टोकेलगत्तै आवश्यक खोप तथा उपचार लिनु नै मृत्यु रोक्ने मुख्य उपाय हो। समयमै आवश्यक खोप लगाएमा रेबिजबाट पूर्ण रूपमा जोगिन सकिने चिकित्सकहरू बताउँछन्।
खोपको अभावले थप जोखिम
नेपालमा यस वर्ष रेबिजविरुद्धको खोपको आपूर्तिमा देखिएको समस्याले पनि जोखिम बढाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। सरकारी स्वास्थ्य संस्थामा खोप नपाउँदा आर्थिक रूपमा कमजोर परिवारका कतिपय व्यक्तिले उपचारबाट वञ्चित हुनुपरेको थियो।
खोपका लागि काठमाडौं आउनुपर्ने तथा निजी क्षेत्रबाट महँगो शुल्कमा खोप किन्नुपर्ने अवस्था समेत देखिएको थियो। कुकुरले टोकेका व्यक्तिले चिकित्सकीय सल्लाहअनुसार निर्धारित अवधिमा रेबिजविरुद्धका खोपका डोज पूरा गर्नुपर्छ।
नेपालले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने लक्ष्य राखेको छ। तर कुकुरको टोकाइका घटना बढ्दै जानु, खोपको नियमित उपलब्धतामा समस्या देखिनु र बालबालिका बढी जोखिममा पर्नुले उक्त लक्ष्य हासिल गर्न चुनौती थपिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष रेबिजका कारण करिब ५९ हजार मानिसको मृत्यु हुने गरेको छ। मृत्यु हुनेमध्ये बालबालिकाको संख्या उल्लेख्य रहेको डब्लूएचओले जनाएको छ।
१३ आश्विन २०८३, मंगलवार १२:०२