रास्वपा सिन्धुपाल्चोकमा विवादबीच मनोनयन दर्ता, माया गुरुङविरुद्ध उजुरी, सचिवमा हमाल निर्विरोध


जनतापत्र, सिन्धुपाल्चोक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आन्तरिक राजनीतिले तरंगित बनेको छ । पार्टीकी संस्थापक जिल्ला सभापति माया गुरुङले पुनः नेतृत्वका लागि उम्मेदवारी दिएपछि उनीविरुद्ध जिल्लाका तीन गाउँपालिका सभापतिहरूले संयुक्त रूपमा उजुरी दर्ता गराएका छन्।
विगतको प्रतिनिधिसभा निर्वाचनअघि ‘नो भोट’ अभियानमा सक्रिय रहेको र निर्वाचनपछि पद छाडेर निष्क्रिय बसेको आरोप लगाउँदै हेलम्बु गाउँपालिका सभापति दिनेश थापा, बलेफीका घमेश थापा र भोटेकोशीका गंगाबहादुर श्रेष्ठले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन्। बागमती प्रदेश अध्यक्ष उत्सव अर्यालको पहलमा गुरुङले उम्मेदवारी दिएको चर्चाबीच जिल्ला तहमा भने असन्तुष्टि बढेको छ ।
सभापतिमा ५ जना प्रतिस्पर्धामा, सचिवमा हमाल निर्विरोध
जिल्ला निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक नामावली अनुसार जिल्ला सभापति पदका लागि ५ जना मैदानमा छन्। सभापति पदमा कुमार श्रेष्ठ, कमला खड्का, माया गुरुङ, पासाङ तामाङ र दिलराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।
यता सचिव पदमा भने राजिव हमालको मात्र एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।
पुनः मनोनयन प्रक्रियाप्रति असन्तुष्टि
यसअघि अधिवेशनको बन्द सत्र सकिएर मतदान मात्र बाँकी रहेका बेला स्थगित भएको निर्वाचनलाई पुनः नयाँ मनोनयनबाट सुरु गर्ने केन्द्रीय आयोगको निर्णयप्रति केही नेता(कार्यकर्ताले असन्तोष जनाएका छन्। यसअघि दाबेदार मानिएका जेपी सिलवाल भने महाधिवेशन प्रतिनिधि भइसकेकाले विधानको व्यवस्था अनुसार उम्मेदवार बन्न पाएनन् ।
निर्वाचन समितिका संयोजक सुदन प्रसाद ज्ञवालीका अनुसार चौतारा छापस्थित कभर्डहलमा हुने मतदान प्रक्रियाबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिनेछ।
उम्मेद्वारी दर्ता गराएकाहरुको सूचि ः

२१ श्रावण २०८३, बिहीबार १८:२२