भैरहवा । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै लुम्बिनीमा विरोध प्रदर्शन जारी छ। नियुक्ति प्रक्रिया नियमविपरीत भएको दाबी गर्दै लुम्बिनी बचाउ महाअभियानले मंगलबार पनि प्रदर्शन गरेको छ।
स्थानीय महिला, जेन–जी युवा तथा महाअभियानका प्रतिनिधिहरूको सहभागितामा पर्सा चोकबाट सुरु भएको विरोध र्याली लुम्बिनी विकास कोषको कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले उपाध्यक्ष नियुक्त गर्दा आवश्यक विधि र प्रक्रिया पालना नगरिएको आरोप लगाए। उनले यस्तो निर्णय सुशासनको सिद्धान्तविपरीत रहेको भन्दै नियुक्ति तत्काल खारेज गर्न सरकारसँग माग गरे।
खाँले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राख्न, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्न र लामो समयदेखि अधुरा रहेका गुरुयोजनाका काम पूरा गर्न सम्बन्धित क्षेत्रका विज्ञलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे। उनले नियुक्ति नसच्याए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिए।
त्यस्तै, भ्रष्टाचारविरोधी अभियन्ता सञ्जयकुमार मिश्रले सरकारले माग सम्बोधन नगरे आन्दोलन लुम्बिनीमा मात्रै सीमित नरहने बताए। उनका अनुसार महाअभियानले नियुक्ति फिर्ताको मागसहित विभिन्न चरणमा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सरकारले गत असोज ३० गते आनी डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको थियो। उक्त निर्णय सार्वजनिक भएसँगै महाअभियानले नियुक्तिप्रति असहमति जनाउँदै आन्दोलन सुरु गरेको हो। सरकारले निर्णय पुनर्विचार गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरूले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।
२ मंसिर २०८३, मंगलवार १४:०१