रसुवा र नुवाकोटमा उद्धार अभियान तीव्र, राहतका लागि २० हेलिकोप्टर परिचालन

काठमाडौं — भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा राहत, खोज तथा उद्धारलाई तीव्रता दिइएको छ। नेपाली सेना तथा विभिन्न मुलुकबाट आएका प्राविधिक टोलीले प्रभावित क्षेत्रमा मानवीय सहायता र उद्धारका कामलाई निरन्तरता दिएका छन्।

बाढीका कारण राष्ट्रिय सडक सञ्जालबाट छुट्टिएका बस्तीलाई पुनः जोड्न नुवाकोटको विदुर क्षेत्रमा रहेको तादी नदीमाथि नेपाली सेनाको सैन्य इन्जिनियरिङ टोलीले डोरीको पुल निर्माण गरिरहेको छ। पुल बनेपछि सडक सम्पर्क टुटेका क्षेत्रसम्म आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच प्रभावित नागरिकलाई खाद्यान्न तथा अन्य आवश्यक सामग्री पुर्‍याउन र जोखिममा परेकाको उद्धार गर्न करिब २० वटा हेलिकोप्टर परिचालन गरिएको छ। सेनाका अनुसार खराब मौसम, दुर्गम हिमाली भूभाग र बाढीका कारण धेरै हेलिप्याड प्रयोग गर्न नसकिने अवस्था रहे पनि हवाई उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइएको छ।

सेनाले सार्वजनिक गरेका विवरणअनुसार नुवाकोट र रसुवाका सबैभन्दा बढी प्रभावित क्षेत्रमा विभिन्न निकायसँग समन्वय गरी खोजी, उद्धार र राहत वितरण भइरहेको छ। साँघुरा हिमाली खोँच र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच हेलिकोप्टरमार्फत प्रभावित तथा विस्थापित परिवारसम्म सहायता पुर्‍याउने प्रयास भइरहेको छ।

चिलिमे सुरुङमा भारतीय प्राविधिक टोलीको सहयोग

रसुवाको चिलिमे क्षेत्रमा बाढी तथा पहिरोपछि प्रभावित सुरुङमा उद्धार कार्य अघि बढाउन भारतीय प्राविधिक टोलीले नेपाली सेनासँग सहकार्य गरिरहेको छ। टोलीले सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्ने, आवश्यक स्थानमा उत्खनन गर्ने तथा उद्धारका लागि पहुँच सहज बनाउने काममा सहयोग गरिरहेको छ।

भारी उपकरण सुरुङको प्रवेशस्थलसम्म पुर्‍याउन इन्जिनियरिङ टोलीले अस्थायी पहुँच मार्ग निर्माणको कामसमेत अघि बढाएको छ। सुरुङभित्रको पानी हटेपछि उद्धारकर्मीलाई जोखिमयुक्त स्थानसम्म पुग्न र थप काम अघि बढाउन सहज भएको बताइएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रभावित क्षेत्रमा प्राविधिक सहयोगसँगै स्थानीय समुदायलाई मानवीय सहायता उपलब्ध गराउने भारतको प्रतिबद्धता रहेको बताएका छन्।

प्राविधिक उद्धार अभियानसँगै भारतीय टोलीका स्वास्थ्यकर्मीले प्रभावित स्थानीयका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरेका छन्। शिविरमार्फत स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ।

२० भाद्र २०८३, शनिबार १९:५८