काठमाडौं — भोटेकोशीमा आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो भौतिक क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना, सरकारी भवनदेखि निजी घरसम्म व्यापक क्षति पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार जिल्लामा ४१ किलोमिटर सडक, ६ वटा पक्की पुल, ८ वटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यस्तै, विभिन्न नदी तथा खोलामा निर्माणाधीन र सञ्चालनमा रहेका ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ।
बाढीबाट २८ सरकारी तथा सार्वजनिक भवन, ११ विद्यालय, १४ बैंक तथा वित्तीय संस्था र एउटा पेट्रोल पम्प प्रभावित भएका छन्। निजी आवासमा पनि ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार करिब १ हजार ५ सय निजी घरमा क्षति भएको छ।
आठ जलविद्युत् आयोजना क्षतिग्रस्त
बाढीको प्रत्यक्ष प्रभाव रसुवाका महत्वपूर्ण जलविद्युत् आयोजनामा परेको छ। क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला र २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ छन्।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ तथा ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्याएको छ।
सम्पर्कविहीनको खोजी तीव्र
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा अन्य स्थानमा सम्पर्कविहीन भएकाको खोजी र उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
उद्धारमा सहयोग पुर्याउन दक्षिण कोरिया, भारत र चीनका विज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीपछि १ हजार ३६५ रसुवाली, १ हजार १६० अन्य जिल्लाका नागरिक र २६४ पर्यटक सम्पर्कविहीन छन्। यसबाहेक बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना पनि हराइरहेको विवरण प्राप्त भएको छ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य आवश्यक सामग्री पुर्याउन हेलिकप्टरमार्फत राहत वितरणलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ।
२० भाद्र २०८३, शनिबार १९:५२