सिन्धुपाल्चोक । सामुदायिक वनको संरक्षण तथा दिगो व्यवस्थापनमा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यसहित सिन्धुपाल्चोकमा सामुदायिक वन दिवस २०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुपाल्चोकले युवा सहभागिता, वातावरण संरक्षण र वनमा आधारित स्थानीय अर्थतन्त्रलाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गरेको हो।
यस वर्षको सामुदायिक वन दिवसमा ‘अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नारालाई मुख्य विषय बनाइएको थियो। वन संरक्षणलाई दीर्घकालीन र प्रभावकारी बनाउन युवापुस्तालाई अभियानमा जोड्नुपर्ने सन्देश कार्यक्रमबाट दिइएको छ।

दिवसका अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। ‘सबल हरित अर्थतन्त्रका लागि युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता’ विषयमा भएको प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
चौतारा साँगाचोकगढी नगरपालिका–११ पाथीभरा क्षेत्रमा रहेको श्री जनविकास माध्यमिक विद्यालय, साँगाचोक नर्सरीमा भएको प्रतियोगितामा नगर क्षेत्रका २४ माध्यमिक विद्यालयमध्ये १२ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूले वन संरक्षण, वातावरणीय सन्तुलन, हरित अर्थतन्त्र, रोजगारी तथा स्थानीय सरकारको भूमिकाका विषयमा आफ्ना विचार राखेका थिए।
प्रतियोगितामा श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय, चौताराकी समृद्धि खड्का प्रथम भइन्। श्री सेतीदेवी माध्यमिक विद्यालय, स्याउलेकी रेनुका तामाङ द्वितीय र श्री जुगल बोर्डिङ स्कुल, चौताराकी रिति घले तृतीय भइन्। आयोजक विद्यालय श्री जनविकास माध्यमिक विद्यालय, साँगाचोक पाथीभराकी विनुशा पराजुलीले सान्त्वना स्थान प्राप्त गरिन्।
प्रतियोगिताको मूल्यांकनका लागि बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटाको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो। समितिमा कविराज भट्ट र प्रभा सुवेदी सदस्य रहेका थिए।
कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिका–११ का वडा अध्यक्ष रोशनराज गिरी र सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय महासचिव पार्वता गौतम विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव नेपाल, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख ओमसागर भण्डारी, प्रहरी वरिष्ठ नायब उपरीक्षक राजेन्द्र कटवाल तथा बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटालगायतको उपस्थिति थियो।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य गंगा खड्का, बागमती प्रदेश महासंघका सचिवालय सदस्य शिव नेपाल, जिल्ला तथा स्थानीय महासंघका पदाधिकारी, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि र स्थानीय सरोकारवालाहरू कार्यक्रममा सहभागी भएका थिए।
दिवसको अवसरमा वन संरक्षण र सामुदायिक वनको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। नगर प्रमुख कृष्णप्रसाद सापकोटा, वडा अध्यक्ष रोशनराज गिरी, मेलम्ची स्थानीय महासंघका अध्यक्ष भोलानाथ आचार्य तथा श्री जनविकास माध्यमिक विद्यालय पाथीभरालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–९ मा रहेको तालकोट रानीपोखरी सामुदायिक वनलाई जिल्लाको उत्कृष्ट सामुदायिक वनका रूपमा सम्मान गरिएको छ। सामुदायिक वन व्यवस्थापन तथा संरक्षणमा गरेको कामको मूल्यांकन गर्दै उक्त वनलाई सम्मान गरिएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख ओमसागर भण्डारी, प्रहरी वरिष्ठ नायब उपरीक्षक राजेन्द्र कटवाल र महासंघकी केन्द्रीय महासचिव पार्वता गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले वनलाई वातावरण संरक्षणको माध्यम मात्र नभई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए। वनबाट प्राप्त स्रोतको दिगो उपयोग गर्दै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनीहरूको भनाइ थियो।
सामुदायिक वन व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनीहरूलाई निर्णय प्रक्रिया, संरक्षण अभियान, वनमा आधारित उद्यम र वातावरणीय गतिविधिमा सहभागी गराउनुपर्नेमा पनि जोड दिइएको थियो। युवा पुस्तालाई सुरुदेखि नै वन तथा वातावरण संरक्षणसँग जोड्न सके आगामी पुस्तासम्म सामुदायिक वनको अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउन सकिने सहभागीहरूको धारणा थियो।

कार्यक्रममा जिल्ला महासंघका पदाधिकारीदेखि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, प्रहरी प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासंघका सहसचिव विष्णु ढुंगानाले सञ्चालन गरेका थिए।
आयोजकका अनुसार सामुदायिक वन दिवसले वन संरक्षणमा समुदायको भूमिकासँगै युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ। वनको संरक्षण, उपयोग र व्यवस्थापनलाई स्थानीय आर्थिक विकाससँग जोड्दै आगामी दिनमा युवा पुस्तालाई अझ व्यापक रूपमा अभियानमा सहभागी गराउने उद्देश्य महासंघले अघि सारेको छ।
२६ श्रावण २०८३, मंगलवार १४:५०