मेल्चौर बजारमा अनुगमन, म्याद नाघेका पेय पदार्थ नष्ट

जनतापत्र, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले मेल्चौर बजार क्षेत्रमा व्यापक बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बिक्रीका लागि राखिएका म्याद नाघेका पेय पदार्थ फेला परेपछि तत्काल नष्ट गरिएको छ ।

नगर उपप्रमुख सीता थापा को नेतृत्वमा सञ्चालन गरिएको अनुगमनमा उद्योग वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। संयुक्त टोलीले मेल्चौर बजारका विभिन्न व्यवसायिकहरूको निरीक्षण गर्दै व्यवसाय सञ्चालनको अवस्था, कानुनी प्रक्रिया तथा उपभोक्तासँग सम्बन्धित विषयहरूको अध्ययन गरेको थियो ।
अनुगमनका क्रममा किराना पसल, खाजाघर, कस्मेटिक पसल, हार्डवेयर तथा वाइन सपसहित २५ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा केही व्यवसाय आवश्यक दर्ता प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको पाइएको छ। त्यस्तै कतिपय पसलमा उपभोक्ताले सजिलै देख्न सक्ने गरी मूल्यसूची नराखिएको, व्यवसाय नवीकरण नगरेको तथा अन्य कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना नभएको समेत फेला परेको टोलीले जनाएको छ।
अनुगमनका बेला एक व्यवसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका म्याद नाघेका कोल्ड ड्रिङ्क्स भेटिएपछि ती सामग्री तत्काल नियन्त्रणमा लिइएको थियो । उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले नेपाल प्रहरीको उपस्थितिमा उक्त पेय पदार्थ नष्ट गरिएको जनाइएको छ। टोलीले खाद्य तथा पेय पदार्थको म्याद, गुणस्तर र भण्डारण अवस्थाप्रति विशेष सतर्कता अपनाउन व्यवसायीहरूलाई आग्रह गरेको छ ।

बजार अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था पालना गर्न समेत सचेत गराइएको छ । व्यवसाय दर्ता तथा नवीकरण नियमित रूपमा गर्न, प्यान दर्ता कायम राख्न, मूल्यसूची अनिवार्य रूपमा राख्न तथा बिक्री गरिने वस्तुको गुणस्तर सुनिश्चित गर्न निर्देशन दिइएको छ। साथै पसल तथा व्यवसायिक स्थलको सरसफाइमा ध्यान दिन र उपभोक्ताको स्वास्थ्यलाई असर पुग्ने कुनै पनि सामग्री बिक्री नगर्न चेतावनी दिइएको छ।
अनुगमन टोलीका अनुसार बजारमा स्वस्थ व्यापारिक वातावरण कायम गर्न व्यवसायीहरूको जिम्मेवारी महत्वपूर्ण हुन्छ। कानुनी मापदण्डको पालना गर्दै गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सके उपभोक्ताको विश्वास बढ्ने र व्यापार व्यवसाय पनि दीर्घकालीन रूपमा सुदृढ बन्ने विश्वास व्यक्त गरिएको छ ।

नगरपालिकाले बजार अनुगमनलाई केवल कारबाहीका रूपमा नभई व्यवसायीलाई सचेत र जिम्मेवार बनाउने अभियानका रूपमा अगाडि बढाएको जनाएको छ । उपभोक्ताको हित संरक्षण, गुणस्तरीय वस्तुको उपलब्धता तथा बजारमा अनुशासन कायम गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने नगरका उपप्रमुख सीता थापाले बताउनुभयो ।
स्थानीय उपभोक्ताले समेत बजार अनुगमनलाई सकारात्मक कदमका रूपमा लिएका छन्। बजारमा म्याद नाघेका तथा गुणस्तरहीन सामग्री बिक्री हुने सम्भावना न्यून बनाउन यस्ता गतिविधि प्रभावकारी हुने उनीहरूको विश्वास छ । नियमित अनुगमन र सचेतनामूलक कार्यक्रममार्फत उपभोक्ता अधिकारको संरक्षणका साथै व्यवसायिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यसका लागि सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय, व्यवसायी तथा उपभोक्ताबीचको सहकार्यलाई थप मजबुत बनाइने नगरपालिकाले जनाएको छ ।

२१ जेष्ठ २०८३, बिहीबार ०७:२६