
आइसिँ तामाङ,मेलम्ची नगरपालिका ।
मेलम्ची नगरपालिका वडा नं. १० मा वडा शिक्षा समितिको आयोजनामा उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ। श्री शीतलादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा शैक्षिक तथा रचनात्मक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद तथा स्टेसनरी सामग्री प्रदान गरिएको हो। कार्यक्रम अन्तर्गत कक्षा १–५ का लागि चित्रकला, कक्षा ६–८ तथा माध्यमिक तहका लागि निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो। यस्तै, शैक्षिक सत्र २०८१ मा कक्षा ५ को वडा स्तरीय र कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको हो।
कार्यक्रम वडा अध्यक्ष तथा वडा शिक्षा समिति अध्यक्ष अमृत खनालको अध्यक्षतामा सम्पन्न भयो। उनले शिक्षाको विकास विना समग्र विकास सम्भव नहुने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकलाई थप प्रेरणा दिने बताउनु भएको छ ।
प्रतियोगिताको मुल्यांकनमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती र शिक्षक हरिप्रसाद सापकोटा निर्णायकका रूपमा सहभागी थिए।
३१ जेष्ठ २०८२, शुक्रबार २१:०९