
जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका द्वारा आयोजित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। नगरप्रमुख आइतमान तामाङले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले अनुशासन, मेहनत र मर्यादा नै खेल क्षेत्रको आधार भएको उल्लेख गर्दै प्रतियोगिताले भविष्यका खेल प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार यस्ता प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरू तयार हुने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक दिनेश बस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष अमृत खनालले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ सहित राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ–संस्था, नागरिक तथा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मेलम्ची नगरपालिकास्थित २४ वटा विद्यालयका विद्यार्थी तथा खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिताबाट स्थानीय स्तरमै खेलप्रतिभा पहिचान हुने, नेतृत्व विकासमा टेवा पुग्ने र विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
२४ पुष २०८२, बिहीबार २१:०४