जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको २१औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुखको सभाध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि रु. १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २२२ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।

नगरपालिकाले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, आधारभूत सेवा प्रवाहमा सुधार तथा दिगो विकासलाई केन्द्रमा राखेर बजेट तयार गरिएको जनाएको छ। साथै, नगरवासीलाई प्रभावकारी सेवा प्रवाह, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणका कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ।

नगरसभामा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सभाबाट पारित बजेटले नगरको समग्र विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
१९ असार २०८३, शुक्रबार १३:१३