मेलम्चीमा ब्युटिसियन तालिम सम्पन्न

जनतापत्र,मेलम्ची ।
पर्फेक्ट म्यानपावर ट्रेनिङ्ग सेन्टर प्रा.लि.को आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३९० घण्टे ब्युटिसियन तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकार तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत सञ्चालित उक्त तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता रहेको थियो। समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख प्रधानले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुग्ने बताइन्। उनले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन प्रशिक्षार्थीलाई आग्रह गर्दै नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल, रोजगार शाखा प्रमुख रञ्जन श्रेष्ठ लगायत जनप्रतिनिधि, सरोकारवाला तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

तालिम अवधिभर सहभागीहरूले ब्युटिसियनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए। समापन कार्यक्रममा सफलतापूर्वक तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममार्फत सञ्चालन गरिएको यस्ता सीपमूलक तालिमले स्थानीय युवायुवती तथा महिलालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

१९ असार २०८३, शुक्रबार १५:०२