जनतापत्र,सिन्धुपाल्चोक ।
नेपाल–चीन सीमावर्ती लप्ची क्षेत्रमा ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा भएका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि चिनियाँ पक्षले शुक्रबार उनीहरूलाई नेपाली प्रशासनको जिम्मा लगाएको हो।

उनीहरूलाई मितेरी पुलमा आयोजित समन्वय प्रक्रियामार्फत नेपाली अधिकारीलाई हस्तान्तरण गरिएको जनाइएको छ। हस्तान्तरणका क्रममा अध्यागमन तथा सुरक्षा निकायका प्रतिनिधिहरू उपस्थित थिए।
तातोपानी अध्यागमन कार्यालयका अनुसार रिहाइका लागि नेपाली पक्षले औपचारिक पत्राचारमार्फत अनुरोध गरेको थियो। चिनियाँ पक्षले कानुनी प्रक्रिया सम्पन्न गरेपछि दुवै युवालाई सुरक्षित रूपमा नेपाली प्रशासनलाई बुझाएको जनाएको छ।
प्रशासनका अनुसार दुवै युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने बताइएको छ।
यसअघि उनीहरूलाई बिहीबार नै रिहा गर्ने तयारी भए पनि बाँकी कानुनी प्रक्रिया पूरा हुन समय लागेकाले हस्तान्तरण शुक्रबार गरिएको जानकारी दिइएको छ।
१९ असार २०८३, शुक्रबार १३:२२