स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायकलाई उपचार सेवा नरोक्न आग्रह

जनतापत्र,काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाएको छ। बोर्डले दैनिक हजारौं बीमित नागरिकलाई वित्तीय जोखिमबाट संरक्षण गर्दै स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उल्लेख गरेको छ।

बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई रु. २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ दाबी भुक्तानी गरिएको छ। उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फछ्र्यौट भएको बोर्डले जनाएको छ।

विज्ञप्तिमा २०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा कार्यक्रमको दिगोपनाका लागि वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको उल्लेख गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित नागरिकको उपचार सेवामा कुनै अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

त्यसैगरी बोर्डले बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवारीपूर्वक सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना, प्रभावकारिता र सबै नागरिकको पहुँच सुनिश्चित गर्न सेवाग्राही, स्वास्थ्य संस्था तथा सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बोर्डले जनाएको छ।

१९ असार २०८३, शुक्रबार १४:०२