जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सरोकारवाला निकाय र कार्यालयहरूबीच सहयोग, समन्वय तथा सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रदेश र स्थानीय तहबीचको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय, सूचना आदानप्रदान, सेवा प्रवाहमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले आपसी सहकार्यलाई थप मजबुत बनाउँदै विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउन संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

अध्यक्ष श्रेष्ठले तीन तहका सरकार र सम्बन्धित निकायबीच निरन्तर समन्वय र सहकार्य कायम रहेमा विकासका कामलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै यस्ता अन्तरक्रिया कार्यक्रमले साझा समस्या समाधान र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उठेका सुझाव तथा निष्कर्षलाई आगामी योजना तथा कार्यान्वयन प्रक्रियामा समावेश गर्दै सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
१९ असार २०८३, शुक्रबार १३:५३