जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको २०औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३÷८४ का लागि नीति, कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरू सर्वसम्मत रूपमा पारित गर्दै विकास र सुशासनलाई केन्द्रमा राखेर आगामी वर्षको कार्यदिशा तय गरेको छ।

नगरसभाबाट आर्थिक वर्ष २०८३÷८४ का लागि रु. १ अर्ब १९ करोड ७५ लाख ८१ हजार ७ सय ४४ बराबरको बजेट पारित गरिएको हो। प्रस्तुत बजेटले नगरपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, उद्योग, गुणस्तरीय पूर्वाधार विकास, वातावरण संरक्षण तथा प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखेर विनियोजन गरिएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको जनाइएको छ।
नगरसभाले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिँदै स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। यससँगै शहीद परिवार सहयोग तथा मृतक परिवार सहायता कार्यक्रमलाई पनि आगामी वर्षमा निरन्तर सञ्चालन गरिने भएको छ। सामाजिक सुरक्षासँग सम्बन्धित यस्ता कार्यक्रमले विपन्न तथा लक्षित समुदायलाई राहत पुग्ने नगरपालिकाको विश्वास छ।
कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि पनि आगामी वर्षको प्राथमिकतामा परेको छ। कृषकलाई आधुनिक प्रविधि, सीप तथा आवश्यक सहयोग उपलब्ध गराई उत्पादन वृद्धि, आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने नीति लिइएको छ। कृषि उत्पादनलाई बजारसँग जोड्दै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।
शिक्षा क्षेत्रतर्फ विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण सिकाइ, शिक्षक क्षमता अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको छ। गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न आधारभूत स्वास्थ्य सेवाको विस्तार, आवश्यक औषधि तथा उपकरणको व्यवस्थापन, स्वास्थ्य संस्थाको सुदृढीकरण र जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।
युवा तथा खेलकुद क्षेत्रको विकासलाई समेत नगरपालिकाले विशेष प्राथमिकता दिएको छ। युवालाई सीप, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गरिनुका साथै खेलकुद पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन तथा स्वस्थ समाज निर्माणमा योगदान पुग्ने गतिविधि अघि बढाइने जनाइएको छ।
पर्यटन क्षेत्रको सम्भावनालाई आर्थिक विकाससँग जोड्ने उद्देश्यले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासमा लगानी बढाइने भएको छ। पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।
नगरसभाले उद्योग तथा उद्यम विकासलाई पनि प्राथमिकतामा राखेको छ। स्थानीय उत्पादन र साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने नीति अवलम्बन गरिएको छ। साथै, सरसफाइ, फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ।
प्रविधिमैत्री सेवा प्रवाहमार्फत नगरवासीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्यसमेत नगरपालिकाले लिएको छ। सूचना प्रविधिको प्रयोग विस्तार गरी सार्वजनिक सेवा प्रणालीलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
नगरपालिकाले “समृद्ध चौतारा साँगाचोकगढी, सुखी नगरवासी“ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखी सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ। विकास निर्माणका योजना समयमै सम्पन्न गर्दै सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमा जोड दिइने जनाइएको छ।
नगरसभाले पारित गरेका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा सम्पूर्ण नगरवासीबीच सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ। विकासका सबै आयाममा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्दै समावेशी, दिगो र आत्मनिर्भर नगर निर्माणका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको नगरपालिकाको निष्कर्ष छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएका नीति, कार्यक्रम र बजेटले आर्थिक विकास, सामाजिक रूपान्तरण, पूर्वाधार विस्तार तथा सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवालालाई सफल कार्यान्वयनका लागि हातेमालो गर्न आग्रह गरेको छ।
१९ असार २०८३, शुक्रबार १४:४९