मेलम्ची खानेपानी आयोजनाका दुई गाडी स्थानीयको नियन्त्रणमा

जनतापत्र, सिन्धुपाल्चोक । । मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रयोग हुँदै आएका दुईवटा सवारीसाधन स्थानीयले नियन्त्रणमा लिएपछि मेलम्ची क्षेत्र पुनः तनावग्रस्त बनेको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै आक्रोशित बनेका प्रभावित स्थानीयले बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित विभिन्न काममा संलग्न स्थानीय तथा व्यवसायीहरूले वर्षौंदेखि आफ्नो रकम नपाएको गुनासो गर्दै आएका छन्। आयोजनाका कारण प्रयोग गरिएको जग्गाको भाडा, निर्माण सामग्री आपूर्ति तथा अन्य सेवा उपलब्ध गराएका व्यक्तिहरूको करोडौँ रुपैयाँ अझै भुक्तानी हुन नसकेको पीडित पक्षको भनाइ छ।

बाहुनेपाटी क्षेत्रका स्थानीय उत्तर श्रेष्ठका अनुसार पटक–पटक सम्बन्धित निकायसँग छलफल, सहमति र प्रतिबद्धता भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। “हामीले धेरै समयसम्म धैर्य गर्‍यौं, तर समस्या समाधानतर्फ कसैले गम्भीरता देखाएन,” उनले भने।

स्थानीयवासीका अनुसार आयोजनाले प्रयोग गरिरहेको कतिपय जग्गाको उचित भाडा नदिइएको मात्र होइन, विभिन्न समयमा सामग्री तथा सेवा उपलब्ध गराउने व्यवसायीको रकमसमेत रोकिएको छ। यसले गर्दा प्रभावित परिवार र व्यवसायी आर्थिक समस्यामा परेका छन्।

स्थानीयले भुक्तानीको माग गर्दै यसअघि पनि विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए। मुहान क्षेत्र तथा आयोजनासम्बन्धी संरचनामा पटक–पटक विरोध कार्यक्रम हुँदा कामकाजसमेत प्रभावित हुने गरेको छ। पछिल्लो पटक गाडी नियन्त्रणमा लिइएको घटनाले समस्या अझ गम्भीर बनेको स्थानीयको भनाइ छ।

पीडित पक्षले सरकार, आयोजना र सम्बन्धित निकायलाई तत्काल बक्यौता रकम उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्नसमेत माग गरेका छन्।

स्थानीयका अनुसार आयोजनाबाट पटक–पटक आश्वासन मात्रै आउने तर कार्यान्वयन नहुने अवस्था दोहोरिँदै गएको छ। यही कारण जनआक्रोश बढ्दै गएको उनीहरूको भनाइ छ।

यता आयोजनासँग सम्बन्धित अधिकारीहरूले भने समस्याको समाधानका लागि पहल भइरहेको बताएका छन्। भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा सम्बन्धित निकायबीच छलफल जारी रहेको जनाइएको छ।

स्थानीयले भने केवल आश्वासनले समस्या समाधान नहुने भन्दै यथाशीघ्र ठोस निर्णय र रकम भुक्तानी हुनुपर्ने माग दोहोर्‍याएका छन्। समस्या समाधानमा ढिलाइ भए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

८ जेष्ठ २०८३, शुक्रबार १५:३०