मेलम्ची–काठमाडौं सहकार्य विस्तारबारे छलफल


जनतापत्र, सिन्धुपालचोक ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसँग मेलम्ची नगरपालिकाका प्रतिनिधिहरूले उहाँकै कार्यकक्षमा भेटघाट गरेका छन्। भेटका क्रममा मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको छ।
भेटवार्तामा दुवै स्थानीय तहबीच विकास निर्माण, विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन, क्षमता विकास तथा अनुभव आदानप्रदानका क्षेत्रमा साझेदारीलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो। विशेषगरी मेलम्ची क्षेत्रमा बारम्बार हुने प्राकृतिक विपद्को व्यवस्थापन, पूर्वतयारी तथा पुनःस्थापनाका क्षेत्रमा काठमाडौं महानगरपालिकासँग सहकार्यका सम्भावनाबारे समेत छलफल भएको बताइएको छ।
त्यसैगरी, दुवै स्थानीय तहमा रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवाह बढाउने तथा स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउने विषयमा पनि सकारात्मक कुराकानी भएको थियो।
कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय तहहरूबीचको सहकार्यले विकासका असल अभ्यास आदानप्रदान गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वयका लागि काठमाडौं महानगरपालिका तयार रहेको धारणा व्यक्त गर्नुभयो।
भेटघाटले मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा विकास र समृद्धिका लागि सहकार्यको नयाँ आधार तयार गरेको सहभागीहरूले बताएका छन्।

२७ जेष्ठ २०८३, बुधबार १०:१७