जनतापत्र,सिन्धुपाल्चोक ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्, हेटौँडा मकवानपुर तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३९० घण्टे मन्टेश्वरी तालिम सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रम मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल, इन्द्रावती बहुमुखी क्याम्पस का सहायक क्याम्पस प्रमुख यादव दुलाल, इन्द्रेश्वरी माध्यमिक विद्यालय का प्रधानाध्यापक देवी श्रेष्ठ, रोजगार संयोजक रञ्जन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा वक्ताहरूले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्टेश्वरी शिक्षण पद्धति प्रभावकारी हुने बताएका थिए। उनीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालय तथा बालविकास केन्द्रहरूमा व्यवहारमा उतार्दै बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न सहभागीहरूलाई आग्रह गरे।
तालिम अवधिभर सहभागीहरूले बाल मनोविज्ञान, प्रारम्भिक बाल विकास, सिकाइका आधुनिक विधि, कक्षाकोठा व्यवस्थापन तथा मन्टेश्वरी शिक्षण प्रणाली सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका थिए।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमले प्रारम्भिक बाल शिक्षामा दक्ष जनशक्ति उत्पादन गरी स्थानीय तहमा गुणस्तरीय शैक्षिक सेवा प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

२९ जेष्ठ २०८३, शुक्रबार १२:३४