जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगरपालिका वडा नं. २ को आयोजनामा महिला तथा पुरुषबीच उमेर समूहस्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ।
१६ देखि २५ वर्ष र २५ देखि ४० वर्ष उमेर समूहअन्तर्गत महिला–महिला तथा पुरुष–पुरुषबीच प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिता मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्यता तथा नगर प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीको विशेष आतिथ्यता रहेको थियो। प्रतियोगिता वडा नं. २ का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेलकुदमार्फत युवाहरूलाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आइतमान तामाङले खेलकुद क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए। उपप्रमुख उमा प्रधानले महिला तथा पुरुष दुवैको सहभागिताले खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताइन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, स्वास्थ्य प्रवद्र्धन तथा युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
१ असार २०८३, सोमबार १५:५४