जनतापत्र, सिन्धुपाल्चोक ।
ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा लिसंखुपाखर गाउँपालिका–६ स्थित सन्सारीमाई माध्यमिक विद्यालयमा बाल विवाह, बाल श्रम, यौनजन्य दुव्र्यवहार तथा प्रजनन स्वास्थ्य विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठु देवी लामाको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडा अध्यक्ष दान बहादुर तामाङको विशेष आतिथ्यतामा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाल विवाह, बाल श्रम, लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार तथा किशोरकिशोरीहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा सचेतनामूलक छलफल गरिएको थियो।
वक्ताहरूले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण तथा समाजमा विद्यमान कुरीति र विभेद अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए। साथै किशोरकिशोरीहरूको स्वास्थ्य, शिक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्न समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन उपस्थित भई सहयोग र सहभागिता जनाउने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि प्राप्त सुझाव, सल्लाह र सहकार्यका आधारमा बाल अधिकार संरक्षण तथा सामाजिक सचेतना अभिवृद्धिका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
१ असार २०८३, सोमबार १५:२०