सुनिता रखाल,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाको नगर सभाहलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण GESI Audit कार्यक्रम आजबाट सुरु भएको छ। नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम असार १ र २ गते गरी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा,उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, कर्मचारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रमको सहजीकरण ज्ञानेन्द्र तिमल्सिना र प्रशिक्षण डाः अनिता श्रेष्ठले गरिरहनुभएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्थानीय सरकारको नीति, योजना, बजेट तथा सेवा प्रवाहलाई थप समावेशी, उत्तरदायी र नागरिकमैत्री बनाउन GESI Audit महत्वपूर्ण आधार बन्ने बताउनुभयो। उहाँले नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै परीक्षणबाट प्राप्त सुझावहरूलाई आगामी नीति तथा योजनामा समेटिने बताउनुभयो।

दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा नगरपालिकाका नीति, योजना, कार्यक्रम तथा सेवा प्रवाहमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्थाको समीक्षा, मूल्याङ्कन तथा सुधारका क्षेत्रहरूको पहिचान गरिनेछ। साथै प्राप्त निष्कर्ष तथा सिफारिसका आधारमा नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि र समावेशी शासन प्रवर्द्धनका लागि आगामी रणनीति तय गरिने जनाइएको छ।
१ असार २०८३, सोमबार १५:२९