जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका–४ स्थित श्री बिन्जेल साना किसान कृषि सहकारी संस्था लिमिटेड (साविक बिन्जेल दुग्ध उत्पादक सहकारी) ले दुग्धजन्य पदार्थको विविधीकरण कार्यक्रम सुरु गरेको छ। सहकारीले दूध उत्पादनसँगै दही, घ्यु, पनिर, खुवा लगायतका मूल्य अभिवृद्धि गरिएका दुग्धजन्य वस्तु उत्पादनको थालनी गरेको हो।

यसअन्तर्गत परीक्षणका रूपमा उत्पादन गरिएका वस्तु तथा सामग्रीहरूको आज निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ लगायतले स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा सहकारीले स्थानीय किसानबाट संकलित दूधलाई प्रशोधन गरी विभिन्न दुग्धजन्य उत्पादन तयार गर्ने प्रक्रिया, उत्पादन क्षमता तथा बजार व्यवस्थापनबारे जानकारी गराएको थियो। सहभागीहरूले स्थानीय उत्पादनको प्रवद्र्धन तथा कृषकहरूको आयआर्जन वृद्धि गर्न यस्ता पहल महत्वपूर्ण हुने बताएका छन्।
सहकारीका अनुसार अब आवश्यक पर्ने दूध, दही, घ्यु, पनिर, खुवा लगायतका दुग्धजन्य सामग्री स्थानीय स्तरमै उपलब्ध हुनेछन्। यसबाट उपभोक्ताले गुणस्तरीय उत्पादन सहज रूपमा प्राप्त गर्नुका साथै स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ।
दुग्धजन्य पदार्थको विविधीकरणले स्थानीय कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यवसायिक बनाउने, रोजगारी सिर्जना गर्ने तथा गाउँपालिकाको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
१ असार २०८३, सोमबार १५:४४