सामुदायिक विद्यालयकै बलमा पाँचपोखरी थाङपाल जिल्ला दोस्रो

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) को नतिजामा जिल्ला दोस्रो स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ।

गत वर्ष जिल्ला प्रथम बन्न सफल गाउँपालिकाले यस वर्ष ६७.९२ प्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको हो। राष्ट्रिय औसत उत्तीर्ण दर ६५ प्रतिशत रहेको अवस्थामा गाउँपालिकाको नतिजा राष्ट्रिय औसतभन्दा माथि रहनु थप गौरवको विषय बनेको छ।

विशेष कुरा के छ भने पाँचपोखरी थाङपाल गाउँपालिकाभित्र एउटा पनि निजी (बोर्डिङ) विद्यालय छैन। पूर्ण रूपमा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको विश्वास तथा विद्यालय व्यवस्थापन पक्षको सक्रियताले यो सफलता सम्भव भएको स्थानीय तहले जनाएको छ।

शिक्षा क्षेत्रमा सीमित स्रोतसाधनका बीच पनि गुणस्तरीय शिक्षाको लक्ष्यसहित गरिएको निरन्तर प्रयासले सकारात्मक परिणाम दिएको सरोकारवालाहरूको भनाइ छ। सामुदायिक विद्यालयहरूको नतिजालाई आधार मान्ने हो भने पाँचपोखरी थाङपाल अझै पनि जिल्लाकै अग्रणी स्थानमा रहेको दाबी गरिएको छ।

गाउँपालिकाका जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका अगुवाहरूले यस उपलब्धिलाई विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण शिक्षा समुदायको साझा सफलता भएको बताएका छन्। आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाइएको छ।

“स्रोत सीमित भए पनि संकल्प बलियो भए परिणाम उत्कृष्ट हुन्छ” भन्ने भनाइलाई पाँचपोखरी थाङपाल गाउँपालिकाले व्यवहारमै प्रमाणित गरेको स्थानीयवासीहरूको विश्वास छ। सामुदायिक विद्यालयहरूको सशक्त प्रयास र सामूहिक प्रतिबद्धताले गाउँपालिकालाई जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ।

१ असार २०८३, सोमबार १५:०७