जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीस्थित झोलुङ्गे पुलबाट नदीमा हाम फालेका एक युवकको शव सिन्धुलीको खुर्कोट क्षेत्रमा फेला परेको छ।
चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले (बाङ्बा) निवासी विरकाजी तामाङ केही दिनअघि बाहुनेपाटीको झोलुङ्गे पुलबाट नदीमा हाम फालेका थिए। घटनापछि नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायले खोजी कार्य सञ्चालन गरेका थिए।
खोजीका क्रममा तामाङको शव नदीले बगाउँदै लगेको अवस्थामा सिन्धुली जिल्लाको खुर्कोट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम तथा थप अनुसन्धान अघि बढाइएको छ।
मृतक तामाङ सिन्धुखोलास्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। उनको निधनले परिवार, आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको छ।
घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
५ श्रावण २०८३, मंगलवार ११:२६