प्रधानमन्त्री शाह र वर्षमान पुनबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा पछिल्लो बाढीबाट प्रभावित नागरिकको उद्धारदेखि राहत तथा पुनर्स्थापनासम्मका विषयमा छलफल भएको जनाइएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विशेषगरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे कुराकानी भएको थियो।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, घाइते तथा प्रभावितको उपचार र राहत सामग्री वितरणको अवस्थाबारे नेताहरूबीच छलफल भएको बताइएको छ।

भेटमा बाढीका कारण क्षतिग्रस्त सडक, पुललगायत सार्वजनिक पूर्वाधारलाई छिटो सञ्चालनमा ल्याउने विषय पनि उठेको थियो। प्रभावित बस्तीमा पुनर्स्थापना तथा पुनर्निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक कदमबारे समेत विचारविमर्श भएको जनाइएको छ।

यसअघि प्रधानमन्त्री शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि भेट गरेका थिए। उक्त भेटमा पनि भोटेकोशी बाढी तथा त्यसपछि उत्पन्न मानवीय र भौतिक क्षतिका विषयमा छलफल भएको थियो।

१८ भाद्र २०८३, बिहीबार १४:४०