काठमाडौं — एसिसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पार्दै समूह चरणबाट सेमिफाइनल पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूह ‘ए’मा चार अंकसहित शीर्ष स्थान कायम राखेको हो।
यूकेएम युएसडी ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमै चार विकेटको क्षतिमा १०४ रन पूरा गर्दै सहज जित निकाल्यो।
नेपालको जितमा अर्जुन कुमालले महत्वपूर्ण भूमिका खेले। उनले धैर्यपूर्ण ब्याटिङ गर्दै ६८ बलमा चार चौकासहित अविजित ४५ रन बनाए। ईशान पाण्डेले २० रन जोडे भने रोहितकुमार पौडेलले १० रन बनाए। दीपेन्द्रसिंह ऐरी १२ रनमा नटआउट रहे।
नेपालको इनिङ्स सम्हाल्ने क्रममा अर्जुन र ईशानबीच तेस्रो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। उक्त साझेदारीले नेपाललाई लक्ष्यतर्फ सहज रूपमा अघि बढाएको थियो।
मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले नेपालका एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ तथा मोहम्मद स्याहदत रमिलले १३ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा मलेसिया १०४ रनको सामान्य योगफलमा सीमित भयो।
नेपालका करण केसी बलिङतर्फ प्रभावशाली रहे। उनले चार विकेट लिए। ललितनारायण राजवंशीले दुई विकेट हात पार्दा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए।
यस जितपछि नेपालले दुई खेलबाट चार अंक जोडेको छ र समूह ‘ए’को पहिलो स्थानमा छ। मलेसिया भने दुई अंकसहित दोस्रो स्थानमा रहेको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो। यता मलेसियाले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले हराएको थियो।
नेपालले समूह चरणको अर्को खेलमा आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा पनि सकारात्मक नतिजा निकाल्न सके नेपाल सेमिफाइनल प्रवेशको दौडमा थप बलियो अवस्थामा पुग्नेछ।
१८ भाद्र २०८३, बिहीबार १४:३७