त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवित उद्धार

काठमाडौं — त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा काठमाडौंका कबिर महर्जन र सप्तरीका सञ्जय साह रहेका छन्।

साइटमा रहेका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र उद्धारका लागि प्रवेश गरेको टोलीले दुवै जनालाई पहुँच सुरुङको करिब मध्यभागबाट फेला पारेको थियो।

महर्जन आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट त्रिशूली–३ ‘ए’ पुगेका थिए। साह भने आयोजनाको सञ्चालनतर्फ सिफ्ट ड्युटीमा कार्यरत थिए। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

उद्धारका क्रममा उनीहरू सुरुङबाट बाहिरिने प्रयासमा बीच भागमै अड्किएको पाइएको उद्धारमा संलग्न सुरक्षाकर्मीले बताएका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विदेशी उद्धारकर्मीको प्राविधिक सहयोगमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग सम्पर्कसमेत स्थापित गरेको थियो। यसअघि सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी सार्वजनिक भएपछि उद्धार प्रयासलाई थप तीव्र पारिएको थियो।

न्यौपानेका अनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको थियो। उद्धार टोलीले आफूहरू उद्धारका लागि आएको भन्दै नआत्तिन आग्रह गरेपछि भित्रबाट सकारात्मक प्रतिक्रिया आएको थियो।

१९ भाद्र २०८३, शुक्रबार ०९:५७