बाढीपीडित गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिने

काठमाडौं — बाढी तथा डुबानका कारण जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई सरकारले निःशुल्क हवाई माध्यमबाट उद्धार गरी उपचारको व्यवस्था गर्ने भएको छ। स्थानीय स्तरका स्वास्थ्य संस्थाबाट उपचार सम्भव नभएका वा तत्काल विशेषज्ञ उपचार आवश्यक पर्ने महिलालाई प्राथमिकताका आधारमा उद्धार गरिने जनाइएको छ।

महिला, बालबालिका तथा सामाजिक सुरक्षासम्बन्धी मन्त्रालयले विपद्का कारण स्वास्थ्य जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई आवश्यक परे हेलिकप्टरमार्फत सुरक्षित रूपमा उद्धार गरी उपयुक्त स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था मिलाइएको जनाएको छ।

उद्धारका लागि सम्बन्धित स्थानीय तह तथा परिवारले आवश्यक समन्वय गर्नुपर्नेछ। जोखिममा रहेका महिलाको अवस्था तत्काल जानकारी गराउन मन्त्रालयले हटलाइन नम्बर ९८५१२५५२५४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

विपद्का बेला गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्दा जटिलता बढ्न सक्ने भएकाले तत्काल सूचना र समन्वयलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

सम्बन्धित परिवार, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायलाई आपत्कालीन अवस्था देखिएमा ढिलाइ नगरी हटलाइनमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। समयमै सही सूचना उपलब्ध गराएर उद्धार प्रक्रिया अघि बढाउन सके सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको भनाइ छ।

१८ भाद्र २०८३, बिहीबार १४:४३