काठमाडौं — भोटेकोशी बाढीमा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई सशस्त्र प्रहरी बल नेपालले तत्काल रु २५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
सशस्त्र प्रहरीका अनुसार राहत रकम विभिन्न शीर्षकअन्तर्गत उपलब्ध गराइनेछ। राष्ट्रसेवकका तर्फबाट रु १५ लाख तथा सम्बन्धित राहतसम्बन्धी कार्यविधि र विपद् राहत कोषको मापदण्डअनुसार थप रु १० लाख उपलब्ध गराउने निर्णय भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याणकारी कोषबाट लिएको र तिर्न बाँकी रहेको ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ।
त्यस्तै, मृतकका सन्ततिलाई उनीहरूलाई सहज पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने शैक्षिक शुल्क छुट दिने व्यवस्था गरिएको छ।
बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति रु १ लाख तत्काल राहत दिने निर्णयसमेत भएको छ। बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीको सम्झनामा स्मारक निर्माण गर्ने तयारी पनि गरिएको छ।
भोटेकोशी बाढीमा १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। त्यस्तै, बाढीबाट सुरक्षित भएका पाँच जना सशस्त्र प्रहरीलाई प्रोत्साहनस्वरूप जनही रु ५० हजार उपलब्ध गराउने निर्णय गरिएको छ।
बाढीबाट प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका लागि पनि छुट्टै राहतको व्यवस्था गरिएको छ। मृत्यु भएमा रु १ लाख, पूर्ण रूपमा घरबारविहीन भएमा रु १ लाख तथा आंशिक भौतिक क्षति वा चोटपटक लागेकालाई अवस्थाअनुसार रु ५० हजारसम्म सहयोग उपलब्ध गराइने बताइएको छ।
यसैबीच सशस्त्र प्रहरी बलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मको तर्फबाट रु १५ करोड ५० लाख योगदान गर्ने निर्णय गरेको छ। टिमुरे बोर्डर आउट पोस्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीबाट जोगिएका कर्मचारीको हकमा भने उक्त रकम कटौती नगरिने जनाइएको छ।
२० भाद्र २०८३, शनिबार १९:५०