काठमाडौं — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिएका छन्।
नुवाकोट, रसुवा लगायतका बाढी प्रभावित जिल्लाको स्थलगत निरीक्षणका क्रममा कार्कीले उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, घटनास्थलको मुचुल्का र राहत वितरणको अवस्थाबारे जानकारी लिएका थिए।
अनुगमनका क्रममा उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग विपद् व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा छलफलसमेत गरेका थिए। प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने काममा पारदर्शिता कायम गर्न र स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न उनले जोड दिए।
विपद्को कठिन परिस्थितिमा खटिएका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै कार्कीले उपलब्ध ज्ञान, सीप, अनुभव र क्षमताको पूर्ण उपयोग गरी उद्धार तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए।
महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा जोड
बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा, दुर्व्यवहार वा अन्य जोखिमप्रति विशेष सतर्क रहन पनि आईजीपी कार्कीले प्रहरीलाई निर्देशन दिएका छन्।
विपद्को अवस्थालाई आपराधिक गतिविधिमा प्रयोग हुन नदिन प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। साथै, स्थानीय सरकारसँग समन्वय गरी राहत वितरणको प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन उनले निर्देशन दिए।
प्रहरी महानिरीक्षक कार्कीसँगै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकारीहरूले पनि शुक्रबार बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।
२० भाद्र २०८३, शनिबार १९:५३