काठमाडौं । नेपाली कांग्रेसभित्रको पछिल्लो आन्तरिक परिस्थितिबारे नेता डा. शेखर कोइराला र सभापति गगन थापाबीच आइतबार छलफल भएको छ।
दिउँसो १२ः३० बजे भएको भेटमा पार्टीभित्र बढ्दै गएको असमझदारी अन्त्य गरी कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउने उपायबारे कुराकानी भएको बताइएको छ।
वार्तामा नेता कोइरालाले मुलुकको वर्तमान अवस्था, लोकतान्त्रिक मूल्य र राष्ट्रियतामाथि चुनौती देखिएको उल्लेख गर्दै कांग्रेसभित्र एकता अपरिहार्य रहेको धारणा राख्नुभएको थियो। पार्टीलाई एक ठाउँमा ल्याउन आवश्यक परे आफूले त्याग गर्न तयार रहेको उहाँले बताउनुभएको जनाइएको छ।
सभापति थापाले पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा आफ्नो समर्थन रहेको बताउनुभएको थियो।
यसैबीच, भेटमा रसुवामा भदौ १० गते आएको बाढीबाट भएको क्षति र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङमा देखिएको अवस्थाका विषयमा समेत छलफल भएको थियो।
कांग्रेसका दुई शीर्ष नेताबीच भएको यो संवादलाई पार्टीभित्रको असमझदारी कम गर्ने प्रयासका रूपमा हेरिएको छ।
२१ भाद्र २०८३, आईतवार १४:२९