इजरायल रोजगारीको नाममा ठगी प्रकरण : चौलागाईंलाई डेढ करोड दिएको सिवाकोटीको बयान

काठमाडौं । इजरायलमा केयर गिभरको रोजगारी दिलाउने भन्दै रकम उठाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरत चौलागाईंमाथि अनुसन्धान जारी रहेको छ। अनुसन्धानका क्रममा पक्राउ परेकी बालिका सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये करिब डेढ करोड रुपैयाँ चौलागाईंलाई बुझाएको बयान दिएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पद प्रयोग गरी वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै रकम असुल गरेको आरोपमा चौलागाईं र सिवाकोटीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।

१५६ जनाबाट २ करोड ५० लाख उठाएको आरोप

सन् २०२४ मा नेपाल सरकारले इजरायलमा कामदार पठाउन परीक्षा सञ्चालन गरेको थियो। त्यसबाट लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए। छनोटमा नपरेका व्यक्तिहरूलाई समेत आफूहरूले इजरायल पठाइदिन सक्ने भन्दै चौलागाईं र सिवाकोटीले रकम उठाएको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर रोजगारीका लागि पठाउन सकिने भन्दै पीडितहरूलाई विश्वास दिलाएको आरोप छ। इजरायल पुगेपछि प्राप्त हुने करिब एक महिनाको तलबबराबर रकम दिने सहमतिमा उनीहरूले पैसा संकलन गरेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार १५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ उठाइएको देखिएको छ।

‘गौशालामा भेटेर डेढ करोड बुझाएँ’

प्रहरीसँगको बयानमा सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई दिएको बताएकी छन्।

उनको बयानअनुसार उक्त रकम उनले काठमाडौंको गौशाला क्षेत्रमा भेटेर चौलागाईंलाई बुझाएकी हुन्। रकम बुझाएपछि चौलागाईं कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि रामेछाप गएको अनुसन्धानबाट खुलेको छ।

तर चौलागाईंले भने आफूले ठगीको रकम नलिएको दाबी गरेका छन्। अनुसन्धानकर्तासँग उनले आफू जग्गासम्बन्धी कारोबार गर्ने भएकाले सिवाकोटीसँग केही रकम ऋणका रूपमा लिएको बताएका छन्।

काम नभएपछि विवाद बढ्यो

रकम बुझाए पनि इजरायल पठाउने प्रक्रिया अघि नबढेपछि पीडितहरूमा असन्तुष्टि बढेको थियो। मन्त्रिपरिषद्बाट समेत अपेक्षित निर्णय नभएको थाहा पाएपछि उनीहरूले सिवाकोटीलाई नियन्त्रणमा लिएर काठमाडौं आसपासको एक रिसोर्टमा लगेर राखेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

त्यसपछि सिवाकोटीले चौलागाईंलाई सम्पर्क गरी काम छिटो टुंग्याउन आग्रह गरेको बताइएको छ। सो क्रममा चौलागाईंले आफूले कुमार बेनसँग कुराकानी गरिसकेको र प्रक्रिया चाँडै अघि बढ्ने आश्वासन दिएको भनिएको छ। उक्त कुराकानीको अडियोसमेत पीडितहरूले सीआईबीमा बुझाएको प्रहरीले जनाएको छ।

अनुसन्धान जारी

रामेछापको सुनापति गाउँपालिका–१ घर भएका चौलागाईंलाई असोज १ गते मन्थलीबाट पक्राउ गरिएको थियो। उनीसँगै दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया सिवाकोटी पनि पक्राउ परेकी छन्।

दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट दोस्रो पटक ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीका सूचना अधिकारी एसएसपी अनुपम शमशेर जबराका अनुसार अहिले बयानलगायत अनुसन्धानका काम भइरहेका छन् र अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन।

७ आश्विन २०८३, बुधबार १४:३३