काठमाडौं । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थल पुगेको सीता एयरको जहाज अवतरणका क्रममा धावनमार्गमै रोकिएको छ। जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएपछि जहाज धावनमार्गमै रोकिएको हो।
बिहीबार बिहान करिब ८:२५ बजे अवतरण गर्ने क्रममा जहाजको पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जहाजमा ७ विदेशी र ६ नेपाली गरी १३ जना यात्रु सवार थिए। सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
घटनापछि जहाज धावनमार्गमै रहेकाले जुफाल विमानस्थलको उडान प्रभावित भएको छ। अन्य जहाजले समेत तत्काल अवतरण गर्न नसकेको जनाइएको छ। प्राविधिक टोलीले जहाजको अवस्था जाँच गरिरहेको छ।
प्रारम्भिक विवरणमा मानवीय क्षति नभएको देखिए पनि जहाजमा भएको प्राविधिक समस्याबारे थप विवरण आउन बाँकी छ।
८ आश्विन २०८३, बिहीबार १२:०८