काठमाडौं । देशभर आगामी तीन दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म विभिन्न प्रदेशमा वर्षाको मात्रा बढ्ने र केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना छ।
मौसमविद्हरूका अनुसार भारतको नागपुर हुँदै नेपालतर्फ प्रवेश गरिरहेको मौसमी प्रणालीको प्रभाव लुम्बिनी, गण्डकी हुँदै देशका अन्य क्षेत्रमा समेत पर्नेछ। यसको प्रभाव विशेषगरी असोज ९ र १० गते बढी देखिने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम उच्च हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा पर्वतारोहणसमेत प्रभावित हुन सक्ने बताइएको छ।
जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता
असोज ९ र १० गते कोशीका ओखलढुंगा, भोजपुर र संखुवासभा, बागमतीका रसुवा, धादिङ, सिन्धुपाल्चोक र काठमाडौं उपत्यका तथा गण्डकीका गोरखा, मनाङ र मुस्ताङमा वर्षाको फैलावट उच्च हुने अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्लाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ। विशेषगरी रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त सडकमा सावधानी अपनाउन भनिएको छ।
सम्बन्धित निकायलाई सडकमा डोजर, एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह र स्वयंसेवकलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रधानमन्त्रीद्वारा सावधानी अपनाउन आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले पनि सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भन्दै नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
न्युयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उहाँले पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास र सुदूरपश्चिमका पहाडी क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
आकस्मिक बाढीको पूर्वसूचना दुई दिनअगावै
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आकस्मिक बाढीको पूर्वानुमान अवधि पनि बढाएको छ। केन्द्रका अनुसार प्रमुख नदीहरूको बाढी पूर्वानुमान अब तीन दिनबाट पाँच दिनसम्म र नेपालका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम पूर्वानुमान एक दिनबाट दुई दिनअगावै गर्न सकिने व्यवस्था गरिएको छ।
मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज १२ गतेसम्म यात्रा गर्दा मौसम तथा सडकको अवस्था बुझेर मात्र अघि बढ्न यात्रुलाई आग्रह गरेको छ।
बाढी, पहिरो वा सडक अवरोधको सम्भावना रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जानकारी लिन र आवश्यक परे स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न महासंघले चालक, परिचालक, बुकिङ कर्मचारी र यात्रुलाई आग्रह गरेको छ।
८ आश्विन २०८३, बिहीबार १२:०६