जनतापत्र,मेलम्ची ।
मेलम्ची नगरपालिका–१, भोटेचौरको पाश्र्वचित्र (वडा प्रोफाइल) आज एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति, भौगोलिक अवस्था, सामाजिक तथा आर्थिक गतिविधि र विकास यात्रालाई समेटेर तयार गरिएको पाश्र्वचित्रको विमोचनसँगै वडाको समग्र परिचयलाई दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ।

वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईंको पहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरू लालबहादुर तामाङ, देवकुमारी चौलागाईं, चक्रपाणि चौलागाईं र अञ्जु नेपाली सहित शैक्षिक व्यक्तित्व, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले वडा प्रोफाइल कुनै सामान्य पुस्तक नभई भोटेचौरको इतिहास, मौलिक संस्कृति, प्राकृतिक सम्पदा, विकासका उपलब्धि र भावी योजनालाई समेट्ने महत्त्वपूर्ण दस्तावेज भएको बताए। यसले स्थानीय तहको योजना निर्माण, विकास व्यवस्थापन, अनुसन्धान तथा भावी पुस्तालाई आफ्नो गाउँको पहिचान बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।
पाश्र्वचित्र तयार गर्ने कार्यमा संलग्न पक्षले यस्तो ऐतिहासिक अवसर प्राप्त हुनु आफ्ना लागि गौरवको विषय भएको उल्लेख गर्दै वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईं तथा सम्पूर्ण वडा परिवारप्रति आभार व्यक्त गरेका छन्। साथै, पाश्र्वचित्र निर्माण तथा प्रकाशनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने वडा सदस्य, शैक्षिक व्यक्तित्व, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी तथा अन्य सहयोगीप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।

सार्वजनिक गरिएको पाश्र्वचित्रले भोटेचौरको ऐतिहासिक विरासत, सामाजिक विविधता, सांस्कृतिक सम्पदा र विकास यात्रालाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै आगामी पुस्ताका लागि प्रेरणादायी सन्दर्भ सामग्रीका रूपमा काम गर्ने विश्वास लिइएको छ। सहभागीहरूले यस्ता दस्तावेजले स्थानीय पहिचान संरक्षणसँगै योजनाबद्ध विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका छन्।
२१ असार २०८३, आईतवार १९:३२