आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

जनतापत्र, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बुधबार अधिकांश भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। यस्तै कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

यस्तै कोशी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

३ भाद्र २०८३, बुधबार १०:३४