जनतापत्र, काठमाडौँ । फेसबुक र इन्स्टाग्राममार्फत बालबालिका तथा किशोरकिशोरीलाई जानाजानी सामाजिक सञ्जालको लतमा पारिएको आरोपमा मेटाविरुद्ध अमेरिकामा दायर मुद्दाको सुनुवाइ सुरु भएको छ। २९ वटा अमेरिकी राज्यले अघि बढाएको यो मुद्दालाई सामाजिक सञ्जाल कम्पनीविरुद्धको ठूलो कानुनी चुनौतीका रूपमा हेरिएको छ।
क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा सुरु भएको सुनुवाइ करिब छ सातासम्म चल्ने बताइएको छ। यस क्रममा विभिन्न राज्यका कानुन व्यवसायी र मेटाका प्रतिनिधिले कम्पनीका गतिविधि, बालबालिकाको सुरक्षा तथा सामाजिक सञ्जालको मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे आफ्ना तर्क प्रस्तुत गर्नेछन्।
राज्य पक्षले मेटालाई बालबालिकामा सामाजिक सञ्जालको प्रयोगबाट पर्न सक्ने नकारात्मक असरबारे जानकारी हुँदाहुँदै प्रयोगकर्ता बढाउने रणनीति अपनाएको आरोप लगाएको छ। विशेषगरी कम उमेरका बालबालिकालाई प्लेटफर्मबाट टाढा राख्न कम्पनीले पर्याप्त कदम नचालेको दाबी राज्य पक्षको छ।
क्यालिफोर्नियाका कानुन व्यवसायीले इन्स्टाग्राममा ११ र १२ वर्ष उमेरका लाखौँ बालबालिका रहेको मेटालाई जानकारी भए पनि उनीहरूको पहुँच रोक्न प्रभावकारी प्रयास नगरेको आरोप लगाए। तर मेटाले भने त्यस्तो उमेर समूहका प्रयोगकर्ता लाखौँ नभई एक लाखभन्दा केही बढी मात्र रहेको दाबी गरेको छ।
मेटाको फरक तर्क
मेटाका वकिलले सामाजिक सञ्जालको प्रयोगले सबै किशोरकिशोरीमा नकारात्मक असर नपार्ने तर्क गरेका छन्। उनीहरूले राज्य पक्षले सामाजिक सञ्जालका सकारात्मक प्रभावलाई बेवास्ता गरेको दाबी गरेका छन्।
मेटाका प्रमुख वकिलमध्येका पाउल स्मिटले कम्पनीकै आन्तरिक अध्ययनलाई उद्धृत गर्दै इन्स्टाग्राम प्रयोग गर्ने ४१ प्रतिशत किशोरकिशोरीले आफूलाई राम्रो महसुस भएको बताएका थिए। त्यस्तै, अर्को ४१ प्रतिशतले इन्स्टाग्राम प्रयोगबाट आफ्नो भावनामा कुनै असर नपरेको बताएका थिए।
राज्य पक्षले भने कम्पनीको आफ्नै अनुसन्धानमा पाँचमध्ये एक किशोरकिशोरीले इन्स्टाग्राम प्रयोग गरेपछि आफूलाई अझ खराब महसुस हुने उल्लेख रहेको अदालतमा प्रस्तुत गरेको छ।
मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्ना प्लेटफर्म प्रयोग गर्नबाट रोक्न असफल भएको र किशोरकिशोरीलाई जानाजानी ‘लत’ लगाउने गरी फेसबुक तथा इन्स्टाग्राम डिजाइन गरेको आरोपसमेत अस्वीकार गरेको छ।
अर्बौं डलर क्षतिपूर्तिको माग
यो मुद्दा सन् २०२३ मा क्यालिफोर्निया, न्युयोर्कलगायत २९ राज्यले दायर गरेको मुद्दाबाट अघि बढेको हो। ती राज्यहरूले बालबालिकाको गोपनीयता तथा संरक्षणसम्बन्धी संघीय र राज्यका कानुन उल्लंघन गरेको आरोप मेटामाथि लगाएका छन्।
राज्यहरूले मेटासँग अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्। साथै फेसबुक र इन्स्टाग्राममा ‘लाइक’को संख्या देखाउने तथा प्रयोगकर्तालाई लगातार तलतिर स्क्रोल गरिरहन मिल्ने ‘अनन्त स्क्रोल’ जस्ता सुविधामा समेत परिवर्तन गर्नुपर्ने माग गरिएको छ।
मुद्दाको अन्तिम फैसलाले बालबालिकाको सुरक्षा, सामाजिक सञ्जाल कम्पनीको जिम्मेवारी र प्लेटफर्म डिजाइनसम्बन्धी आगामी कानुनी मापदण्डमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
३ भाद्र २०८३, बुधबार १५:२०