ओली, देउवा र दाहालका पूर्वस्वकीयमाथि अख्तियारको नजर, २० भन्दा बढी निकायबाट आर्थिक विवरण झिकाइँदै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवको सम्पत्ति र आर्थिक कारोबारमाथि अनुसन्धान अघि बढाएको छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिव क्रमशः राजेश बज्राचार्य, भानु देउवा र गंगा दाहाल अनुसन्धानको दायरामा परेका हुन्।

आयोगले उनीहरूको आर्थिक अवस्थाबारे विस्तृत जानकारी जुटाउन २० भन्दा बढी सरकारी तथा सम्बन्धित निकायसँग विवरण मागेको छ। बैंक खातामा भएको कारोबारदेखि सेयर, घरजग्गा, सवारीसाधन, ऋण, विदेश भ्रमण, पारिवारिक सम्पत्ति र कम्पनीमा गरिएको लगानीसम्मका विवरण संकलन भइरहेको आयोग स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त विवरण तथा आयोगमा परेका छुट्टाछुट्टै उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ। अनुसन्धानका लागि निजामती कर्मचारी र प्रहरी सम्मिलित टोलीसमेत परिचालन गरिएको छ।

बैंक कारोबारदेखि घरजग्गासम्म निगरानी

अनुसन्धान अधिकृतहरूले विभिन्न निकायबाट प्राप्त विवरणलाई सम्बन्धित व्यक्तिले उपलब्ध गराएका सम्पत्ति विवरणसँग भिडाएर हेर्ने तयारी गरेका छन्।

आयोगका एक अधिकारीका अनुसार केही बैंकिङ कारोबार शंकास्पद देखिएपछि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा आवश्यक परे तीनै जनालाई बोलाएर बयान लिइनेछ।

भानु देउवाको हकमा आयोगले १३ पृष्ठको विवरण फारम भराएको छ। त्यसमा बैंक खाता, सेयर, घरजग्गा, सवारीसाधन, ऋण, पारिवारिक सम्पत्ति, विदेश भ्रमण तथा विभिन्न कम्पनीमा गरिएको लगानीसम्बन्धी जानकारी समेटिएको छ।

गंगाको सम्पत्तिसँगै आगजनीको घटनासमेत जोडियो

गंगा दाहालको आर्थिक कारोबारमाथि पनि आयोगले अध्ययन गरिरहेको छ। यसअघि दाहालको घरमा भएको आगजनीका क्रममा नगद र सुन लुटिएको विषय अनुसन्धानमा आएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार घटनास्थलबाट बरामद खरानी परीक्षण गर्दा नगद जलेको अवशेष भेटिएको रिपोर्ट आएको थियो। त्यसपछि विषयलाई थप अनुसन्धानका लागि अख्तियारमा पठाइएको बताइएको छ।

तर गंगा दाहालले आफूलाई अहिलेसम्म अनुसन्धानका विषयमा सोधपुछ नगरिएको बताएकी छन्। राज्यको सम्बन्धित निकायले अनुसन्धान गर्नुमा आफ्नो आपत्ति नरहेको उनको भनाइ छ। उनका पति जीवन आचार्यको सम्पत्तिबारे समेत अनुसन्धान भइरहेको बताइएको छ।

बज्राचार्यको नाम यसअघि पनि विवादमा

ओलीका तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिसम्बन्धी अनुसन्धानमा यती समूहसँगको कारोबारसमेत जोडिएको छ।

दरबारमार्गस्थित सरकारी जग्गा लिज प्रकरणको अनुसन्धानका क्रममा बज्राचार्यले यती समूहसँग जोडिएको कारोबारबाट बालकोटमा घर लिएको विषय उठेको थियो। अनुसन्धानकर्ताले मालपोतमा देखाइएको रकम र सम्पत्तिको वास्तविक मूल्यबीच अन्तर रहेको दाबी गरेका छन्।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत बज्राचार्यको नाम जोडिएको थियो। पक्राउ परेका अभियुक्तमध्ये एकले उनलाई रकम दिएको बयान गरेको दाबी सार्वजनिक भएको थियो। बज्राचार्यले भने उक्त विषयमा प्रतिक्रिया दिएका छैनन्।

देउवा परिवारसँग जोडिएको अनुसन्धान

शेरबहादुर देउवा र उनको परिवारसँग सम्बन्धित सम्पत्तिको अनुसन्धानका क्रममा भानु देउवा पनि अनुसन्धानको घेरामा आएका हुन्। भदौमा भएको हिंसात्मक घटनापछि देउवा निवासमा तोडफोड र आगजनी हुँदा नेपाली तथा विदेशी मुद्रा भेटिएको विवरण सार्वजनिक भएको थियो।

त्यसपछि देउवा परिवारको आर्थिक अवस्थाबारे छानबिन सुरु गरिएको थियो। भानु देउवाले भने आफूलाई कुनै निकायले अहिलेसम्म अनुसन्धानका विषयमा सोधपुछ नगरेको बताएका छन्।

विवरण संकलनपछि मात्रै थप प्रक्रिया

अख्तियारले अहिले मुख्यतः विभिन्न निकायबाट तथ्य र कागजात संकलन गरिरहेको छ। प्राप्त विवरणको विश्लेषणपछि सम्बन्धित व्यक्तिसँग बयान लिने र आवश्यकताअनुसार अनुसन्धानलाई थप अघि बढाउने तयारी छ।

यसैबीच, उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न गठित छुट्टै आयोगको काम अदालतको आदेशपछि रोकिएको अवस्थामा अख्तियारले तीन पूर्वप्रधानमन्त्रीका पूर्वस्वकीयमाथि अनुसन्धान अघि बढाएको हो।

४ भाद्र २०८३, बिहीबार ०९:५२