पहिरोको त्रासमा पैह्रे बस्ती, रात विद्यालयमा बिताउँदै स्थानीय

जनतापत्र, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–१ थापागाउँ पैह्रेका स्थानीय बर्खा लागेसँगै पहिरोको त्रासमा बाँचिरहेका छन्। गाउँमाथिबाट निरन्तर जमिन भासिँदै पहिरो खस्न थालेपछि जोखिममा रहेका परिवारहरू राति विद्यालयमा आश्रय लिन र दिनमा घर फर्केर काम गर्न बाध्य छन्।

पहिरोको जोखिमका कारण यहाँका नौ घर उच्च जोखिममा परेका छन्। घरमै रात बिताउँदा जुनसुकै बेला पहिरोमा परिने डर भएकाले स्थानीयले विद्यालय भवनलाई अस्थायी आश्रयस्थल बनाएका छन्।

६६ वर्षीय गणेशबहादुर थापाको परिवार पनि करिब दुई महिनादेखि विद्यालयमा रात बिताउँदै आएको छ। राति विद्यालयमा बस्ने र बिहान भएपछि खेतीपाती तथा घरायसी कामका लागि जोखिम मोलेर घर फर्किने गरेको उनले बताए।

“राति घरमा सुत्न डर लाग्छ। विद्यालयमा आएर बस्छौँ। तर दिनमा खेतीपाती र घरको कामका लागि घर जानैपर्छ।”

पहिरोका कारण जमिनमा धाँजा फाट्नुका साथै खेतीयोग्य जमिनसमेत प्रभावित भएको स्थानीयको भनाइ छ। सुरक्षित स्थानमा तत्काल बस्ती स्थानान्तरण नगरिए ठूलो क्षति हुन सक्ने उनीहरूको चिन्ता छ।

विद्यालयमा आश्रय, तर भविष्य अनिश्चित

लक्ष्मी खत्रीसहित केही परिवार विद्यालयका कोठामा बस्दै आएका छन्। विद्यालय मर्ज भएकाले भवन उपलब्ध भए पनि लामो समयसम्म त्यहीँ बस्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता उनीहरूमा छ।

स्थानीयका अनुसार २०७१ सालदेखि नै गाउँमाथिको जमिनमा भासिने क्रम सुरु भएको थियो। त्यसपछि भूकम्प र परकम्पनका कारण जमिन थप चर्किँदै गएपछि पहिरोको जोखिम बढ्दै गएको हो।

गाउँलेहरूका अनुसार यसअघि पनि जोखिममा परेका केही परिवार गाउँ छाडेर काठमाडौं बसाइँ सरेका थिए। अहिले बाँकी परिवारसमेत बस्ती छाड्नुपर्ने अवस्थामा पुगेका छन्।

स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि भएकाले सुरक्षित स्थानमा सारिए पनि जीविकोपार्जनको व्यवस्था कसरी गर्ने भन्ने अर्को समस्या रहेको उनीहरूको भनाइ छ। उनीहरूले सरकारले सुरक्षित ठाउँमा स्थायी पुनर्स्थापना र पहिरो नियन्त्रणका उपाय तत्काल अघि बढाउनुपर्ने माग गरेका छन्।

पालिका भन्छ– आवश्यक निर्णय भइसकेको छ

बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले जोखिममा रहेका परिवारको अवस्था गम्भीर रहेको भन्दै विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय गरिसकेको बताएका छन्। उनका अनुसार तत्कालीन व्यवस्थापन र सम्भावित स्थानान्तरणका विषयमा माथिल्लो तहमा समेत जानकारी गराइएको छ।

स्थानीयको समस्या बुझ्न पुगेका राजनीतिक दलका प्रतिनिधिहरूले पनि सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सिन्धुपाल्चोकमा पहिरोको जोखिम पुरानै

सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा पहिरोको जोखिम नयाँ समस्या होइन। जिल्लाका थुप्रै बस्ती वर्षायाममा उच्च जोखिममा पर्ने गरेका छन्। भोटेकोसी आसपासका क्षेत्रलाई समेत विगतका अध्ययनले पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा औँल्याउँदै आएका छन्।

भोटेकोसी गाउँपालिकाका लिस्तीकोट, पाउँगुम्बा, हिन्दी तथा बोसिसा नमानङलगायतका बस्तीमा समेत दर्जनौँ परिवार पहिरोको जोखिममै बसिरहेको स्थानीय बताउँछन्।

सिन्धुपाल्चोकमा विगतमा पहिरोका कारण ठूलो मानवीय क्षति भइसकेको छ। २०७७ सालमा जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ३७ जनाको मृत्यु भएको थियो भने बाह्रबिसे नगरपालिका–७ नागपुजे र भीरखर्कमा भएको पहिरोमा पनि ठूलो जनधनको क्षति भएको थियो।

विगतका यस्ता घटनाबाट समेत पाठ नसिकिएको भन्दै स्थानीयले जोखिममा रहेका बस्तीलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेका छन्। अहिले पैह्रेका बासिन्दाका लागि विद्यालयमा बितिरहेको प्रत्येक रात सम्भावित विपद्को डर र सुरक्षित भविष्यको पर्खाइमा बितिरहेको छ।

३ भाद्र २०८३, बुधबार १४:३८