काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुर्याएको छ। बाढीका कारण केही विद्यालयका भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने कतिपयमा आंशिक क्षति पुगेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) अनुसार विद्यालयका भवन तथा शैक्षिक सामग्रीसहित करिब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार प्रभावित १८ विद्यालयका ५६ वटा भवनमा क्षति पुगेको छ। ती भवनमा रहेका १५२ कोठा आंशिक र १५६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
रसुवामा पनि विद्यालय प्रभावित
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको एउटा विद्यालयका दुई भवनमा रहेका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यहाँ करिब ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ भवनमा रहेका ३६ कोठा पूर्ण रूपमा भत्किएका छन्। ती विद्यालयमा करिब १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
नुवाकोटमा ९ विद्यालयमा क्षति
नुवाकोटको विदुर नगरपालिकामा मात्रै नौ वटा विद्यालय बाढीबाट प्रभावित भएका छन्। ती विद्यालयका ३२ भवनमा क्षति पुगेको छ।
क्षतिग्रस्त भवनका ६१ कोठामा आंशिक र ८९ कोठामा पूर्ण क्षति पुगेको छ। विदुरका विद्यालयमा भएको क्षतिको अनुमानित मूल्य ३६ करोड ६२ लाख रुपैयाँ रहेको छ।
धादिङका विद्यालयमा पनि असर
धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालय बाढीबाट प्रभावित भएका छन्। ती विद्यालयका १० भवनका ७७ कोठामा आंशिक तथा आठ कोठामा पूर्ण क्षति पुगेको छ। यहाँ करिब १० करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। उक्त विद्यालयमा करिब ४ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनमा रहेका १४ कोठामा आंशिक क्षति पुगेको छ। उक्त क्षतिको मूल्य करिब १ करोड ४३ लाख रुपैयाँ रहेको प्रतिवेदनले जनाएको छ।
विद्यालयका भवनबाहेक शैक्षिक सम्पत्तिमा मात्रै करिब २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ।
२८ भाद्र २०८३, आईतवार १४:४५